काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि माइतीघरमा आमरण अनसन शुरु गरेका छन् । आज बिहानदेखि उनले अनिश्चितकालीन आमरण अनसन शुरु गरेका हुन् ।
तीन दिनसम्म भोक हड्तालमा बसेका नगरप्रमुख भट्टराईले माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन शुरु गरेका हुन् । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन शुरु गरेका छन् ।
बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योगलगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानून बनाउनुपर्ने उनको माग छ ।
काठमाडौंबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनुपर्ने लगायतको माग नगरप्रमुख भट्टराईले राखेका छन् ।
माग पूरा नभएसम्म सत्याग्रहमा बस्ने घोषणा गरेर काठमाडौं आएका प्रमुख भट्टराई भोक हड्तालबाट माग पूरा नभएपछि आमरण अनशन शुरु गरेका हुन् ।