काठमाडौ। सुनचाँदीमा लगाइएको विलासी कर र रत्न पत्थर जडित गहना लगाइएको भ्याट खारेजी तथा नीति निर्देशिकाको माग गर्दै काठमाडौँको न्यूरोडमा विरोध प्रर्दशन गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको आयोजनामा भएको प्रर्दशनमा देशभरका व्यवसायीहरुको सहभागिता रहेको थियो । सरकारले प्रस्तुत गरेको वजेटमा सुनलाई विलासी वस्तु किटान गर्दा सुन व्यवसाय विस्थापित हुने र रोजगारी गुम्ने अवस्था आएको भन्दै उनीहरु देशभरका पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले माग पूरा नगरे अझ सशक्त आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक विपिन रामुदामुले सरकारले माग पुरा नगरे मंगलवार देखि रिले सहित आमरण अनसनको कार्यक्रम समेतमा जाने चेतावनी दिएका छन् ।
जेठ २९ गते देखि सुनचाँदी पसल बन्द गरी विरोधमा उत्रिएका व्यवसायीहरुले सरकारको कदमले २० हजार भन्दा बढी व्यवसायी पलायन हुने र नेपालको कला संस्कृतिको विकासमा क्षति हुने बताएका छन् ।
सुनचाँदी पसल निरन्तर बन्द भए राज्यलाई पाँच अर्ब भन्दा बढीको राजस्व गुम्ने र स्वरोजगार पलायन हुने व्यवसायीहरुले बताएका छन् । सुनचाँदीमा लगाएको विलासिता करको विरोधमा व्यवसायीहरुले पसल बन्द गरी विरोध गर्दै आइरहेका छन् ।