विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ ।
नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको गोली लागेर भारत अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवै घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन् ।
लागुऔषधको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली खटिएको थियो । राति करिब ९:३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो । ती व्यक्ति भागेपछि प्रहरीले ८ राउण्ड गोली चलाएको थियो ।
प्रहरीले चलाएको गोली दुई भारतीय नागरिकको घुँडा मुनी लागेको छ । प्रहरीले चाइनिज पेस्तोलबाट ५ राउन्ड र ब्रेडा पेस्तोलबाट ३ राउन्ड गरी जम्मा ८ राउन्ड गोली प्रहार गरेको डिएसपी मिश्रले बताए ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको छ । डिएसपी मिश्रका अनुसार करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल पनि बरामद भएको छ ।
प्रहरीका अनुसार लामो समयदेखि यो समूहले लागुऔषधको कारोबार गर्दै आएको थियो । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले जानकारी दिए ।

