बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।
निष्कासनमा परेका ३३ जनामध्ये १६ जना सेनासँग सम्बन्धित छन् । चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ पूर्ण बैठक (पाँचौँ प्लेनम) मा केन्द्रीय समितिका २७९ जना सदस्य सहभागी भएका थिए । जबकि सन् २०२५ को अक्टोबरमा भएको चौथो बैठकमा ३१५ जना र सन् २०२४ को जुलाईमा भएको तेस्रो बैठकमा ३६४ जना सहभागी थिए ।
यसअघिका बैठकमा आर्थिक सुधार, सामाजिक विषय र विकासका मुद्दाले प्राथमिकता पाउने गरेका थिए । तर यसपटकको बैठकमा पार्टी अनुशासन मुख्य विषय बन्यो ।
सन् २०१२ मा चीनको नेतृत्व सम्हालेदेखि नै राष्ट्रपति सी चिनफिङले भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो शासनको प्रमुख आधार बनाउँदै आएका छन् । उनले भ्रष्टाचारलाई पार्टीका लागि ‘सबैभन्दा ठुलो खतरा’ समेत बताएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको अनुशासनसम्बन्धी आयोगका अधिकारी झाङ फुहाईले सन् २०१२ यता दुई करोडभन्दा बढी व्यक्तिलाई विभिन्न अनुशासनहीन गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरिएको बताए ।
ती गतिविधिमा अनावश्यक औपचारिकता, कर्मचारीतन्त्रको हावी, विलासी जीवनशैली र फजुल खर्चजस्ता विषय समावेश छन् ।
उनले पार्टीले भ्रष्टाचार रोक्न थप कडा कदम चाल्ने पनि बताए । उनका अनुसार पार्टीका अधिकारीहरूमा भ्रष्टाचार गर्ने आँट नआओस्, भ्रष्टाचार गर्न नसकून् र भ्रष्टाचार गर्ने इच्छा नै नहोस् भन्ने वातावरण बनाइनेछ ।
बेइजिङस्थित एक होटलमा चार दिनसम्म चलेको बन्द बैठक बिहीबार सकिएको थियो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिइएको हो ।
तर उनीहरूमाथि के-कस्ता आरोप छन् भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । विज्ञप्तिमा उनीहरूले ‘गम्भीर अनुशासनहीन र कानुनविपरीतका गतिविधि’ गरेको मात्र उल्लेख छ । सी चिनफिङको भ्रष्टाचारविरोधी अभियानमा यस्ता अस्पष्ट आरोपहरू सामान्य बन्दै गएका छन् ।
कार्नेगी चाइनाका गैरआवासीय अनुसन्धानकर्ता चोङ जा इआनका अनुसार यो अभियान भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमात्र नभएर सत्तामाथिको पकड बलियो बनाउने माध्यम पनि बनेको छ ।
उनका अनुसार सी आफूलाई कति सुरक्षित महसुस गर्छन् भन्ने आधारमा यो अभियान अझ विस्तार हुन सक्छ । यसको उद्देश्य वास्तविक भ्रष्टाचार नियन्त्रणभन्दा पनि आफ्नो अधिकार र प्रभाव कायम राख्नु हुन सक्छ ।
पार्टीले जारी गरेको विज्ञप्तिमा नेतृत्वले पार्टीभित्रको कमजोर अवस्था र अनुशासनहीनतालाई गम्भीर रूपमा लिएको उल्लेख छ ।
पार्टीले आन्तरिक कमजोरी हटाउने, अनुशासन कडा बनाउने र गलत गतिविधिविरुद्ध आफ्नै पार्टीभित्र पनि कडा कदम चाल्ने बताएको छ ।
सीको तेस्रो कार्यकालमा अहिलेसम्म निष्कासनमा पर्ने पार्टी सदस्यको संख्या ५१ पुगेको छ । यो पहिलो र दोस्रो कार्यकालको तुलनामा निकै बढी हो । पहिलो कार्यकालमा ३५ जना र दोस्रो कार्यकालमा पाँच जना निष्कासन भएका थिए ।
यसैबिच, चीनको भ्रष्टाचारविरोधी निकायका अनुसार यस वर्षको पहिलो नौ महिनामा मात्रै पार्टी संरचनाभित्र रहेका ६ लाख ८० हजार जनालाई विभिन्न अनुशासनहीन गतिविधिका कारण कारबाही गरिएको छ ।
सीको १४ वर्षे शासनकालमा पहिलोपटक पार्टीको पूर्ण बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्यको संख्या ३०० भन्दा कम भएको छ । सन् २०२२ मा वर्तमान केन्द्रीय समितिको कार्यकाल सुरु हुँदा यसमा ३७० भन्दा बढी सदस्य थिए ।
विश्लेषकहरूका अनुसार सीका लागि भ्रष्टाचार भनेको पैसा कमाउने वा घुस खाने काममात्र होइन । पार्टीको विचारधाराप्रति प्रतिबद्ध नहुनु र नेताको आदेश नमान्नुलाई पनि उनी अनुशासनहीनता र भ्रष्टाचारकै रूपमा हेर्छन् ।
यसै वर्ष जनवरीमा सीले बाहिरबाट आफूलाई वफादार देखाउने तर भित्रभित्रै पार्टीको आदेश उल्लङ्घन गर्ने ‘दुईमुखे अधिकारीहरू’ प्रति सचेत रहन चेतावनी दिएका थिए ।
को-को परे कारबाहीमा ?
पार्टीबाट निष्कासन गरिएका उच्च तहका नेताहरूमध्ये सिन्जियाङका पूर्व पार्टी प्रमुख मा सिङरुई, पूर्व उच्च सैनिक जनरल झाङ युस्या र लिउ झेनली प्रमुख छन् ।
उनीहरूलाई कारबाही गर्दा आधिकारिक रूपमा पार्टीको अनुशासन र नियम गम्भीर रूपमा उल्लङ्घन गरेको आरोप लगाइएको थियो । चीनको राजनीतिक सन्दर्भमा यस्तो भाषालाई भ्रष्टाचारको आरोपका रूपमा बुझ्ने गरिन्छ ।
विशेषगरी चिनियाँ सेनाका उच्च अधिकारीहरूलाई हटाइनुलाई निकै महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अनुसन्धानकर्ता निल थोमस, लोबसाङ छिरिङ र शेङयु वाङका अनुसार सेनाभित्र भइरहेको यो व्यापक कारबाही अन्य घटनाभन्दा निकै फरक र गम्भीर प्रकृतिको छ ।
उनीहरूले यसले चीनको सैनिक नेतृत्व र युद्धका लागि सेनाको तयारी क्षमतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । यस्तो अवस्थामा पनि चीनले भने अत्याधुनिक सैन्य हतियार सार्वजनिक गरिरहेको छ ।
झाङ युस्या केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष पनि थिए । यही आयोगले चीनको सेनालाई नियन्त्रण र सञ्चालन गर्छ ।
यसैगरी, लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका चीनका पूर्व चर्चित कूटनीतिज्ञ लिउ जियानछाओ पनि कारबाहीमा परेका व्यक्तिहरूको सूचीमा छन् । उनी सन् २०२५ को जुलाईदेखि सार्वजनिक रूपमा देखिएका थिएनन् ।
चोङका अनुसार सीले आफैँले अवसर दिएका र पदमा पुर्याएका व्यक्तिलाई समेत कारबाहीमा परेका छन् । यसले सीको सत्ता र पार्टीभित्रको पकड निकै बलियो रहेको देखाउने उनको भनाइ छ ।
विश्लेषकहरूका अनुसार पार्टीमा अनुशासन र नेताप्रतिको वफादारीलाई यति धेरै प्राथमिकता दिनुको एउटा प्रमुख कारण आगामी वर्ष हुने पार्टी महाधिवेशन पनि हो ।
सन् २०२७ मा चिनियाँ कम्युनिस्ट पार्टीको २१औँ महाधिवेशन हुँदैछ । त्यसमा पार्टीले आगामी नेतृत्व चयन गर्नेछ । धेरै विश्लेषकको अनुमानमा सी चिनफिङ चौथो कार्यकालका लागि पनि चीनको सर्वोच्च नेतृत्वमा रहनेछन् । सम्भवतः उनी त्यसपछि पनि सत्तामा रहन सक्छन् ।
चीनका संस्थापक नेता माओत्से तुङबाहेक अहिलेसम्म कुनै पनि नेताले यति लामो समयसम्म चीनको सर्वोच्च नेतृत्व सम्हालेका छैनन् ।
अनुसन्धानकर्ता निल थोमसका अनुसार वर्तमान केन्द्रीय समितिका धेरै नेता हटाइएकाले सीले अब नयाँ पुस्ताका सम्भावित नेताहरूलाई अझ नजिकबाट निगरानी गर्नेछन् । उनका अनुसार अहिले नेतृत्वमा आउन सक्ने सम्भावना भएका व्यक्तिहरू तुलनात्मक रूपमा युवा छन् । उनीहरूसँग प्राविधिक तथा व्यवस्थापकीय ज्ञान छ र उनीहरूमध्ये धेरैको सम्बन्ध सीको राजनीतिक सञ्जालसँग पनि जोडिएको छ ।
प्रदेश तहका नेताहरू आगामी नेतृत्वका लागि सम्भावित उम्मेदवार हुन सक्ने थोमसको भनाइ छ । विश्लेषकहरूका अनुसार अन्ततः सन् २०२७ को २१औँ महाधिवेशनमा कसलाई महत्त्वपूर्ण पद दिने भन्ने निर्णयमा सीकै प्रभाव सबैभन्दा बढी हुनेछ ।
यसले चीनको कम्युनिस्ट पार्टी र समग्र देशमाथि उनको नियन्त्रण अझ बलियो बनाउने अपेक्षा गरिएको छ । चोङका अनुसार सीको मुख्य उद्देश्य सम्पूर्ण शक्ति आफ्नै हातमा केन्द्रित गर्नु हो । उनले भनेका छन्, ‘पार्टीको बैठकपछि जारी गरिएको वक्तव्यले चीन र चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रमा सी नै रहिरहन चाहन्छन् भन्ने देखाउँछ ।’
तर उनले लामो समयसम्म एकै व्यक्तिको हातमा अत्यधिक शक्ति केन्द्रित हुँदा भविष्यमा गम्भीर समस्या आउन सक्ने चेतावनी पनि दिएका छन् ।

