खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १२ वर्षीया तारा अछामीको आफन्तले बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । गत साउन–२९ गते साँझ मृत भेटिएकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी अछामी सुत्ने कोठामा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृतक ताराका बुबा तेजबहादुर अछामी सार्कीले छोरीले झुण्डिएर आत्माहत्या गरेको नभइ बलात्कारपछि हत्या भएको आंशकामा घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गर्दै शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।
घटना भएको पर्सिपल्ट शनिबार नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै मृतक बालिकाका आफन्तले घटनाका विषयमा सत्य, तथ्य बाहिर ल्याइदिन र न्यायका लागि लडिदिन आग्रह गरेका थिए मृतक तारा हिङमाङको घरमा एक महिनादेखि काम सघाउने गरि बसेको र बाम्राङस्थित शितला माविको कक्षा–४ मा अध्ययनरत रहेको पाइएको छ । मृतक तारा आफूसँग बस्न नरुचाउने र महिना दिनअघिदेखि हिङमाङको घरमा बस्दै आएको आमा सरिताको भनाइ छ ।
मृतकका बुबाले घटनाको अनुसन्धान गरिदिन भन्दै जाहेरी दर्ता गराएको र घटनाका विषयमा अनुसन्धान भइहरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।