काठमाडौँ । यसैबीच, कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा घाइते भएका थप एकजनालाई काठमाडौँ ल्याइएको छ। २४ वर्षीय घाइते कर्ण सारुमगरलाई काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक राज कुमार सिहले जानकारी गराएका छन् ।
घाइते सारुमगरलाई नियमित उडानबाट काठमाडौँ पठाइएको जानकारी दिएका छन । उपचारमा संलग्न चिकित्सकका अनुसार सारुमगर को बायाँ हातको हड्डी भाँचिएको छ भने हातको नशामा समेत फाटेको देखिएकोले थप उपचारको लागि काठमाडौँ लैजानु परेको जनाइएको छ।
उक्त घट्नाका अन्य घाइतेहरूको हाल सेती प्रादेशिक अस्पताल सँगै जोडिएको कोराना अस्पताल भवनमा उपचार भइरहेको छ। उपचाररत घाइते हरूको अवस्था भने हाल सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी गराएका छन्।
शुक्रबार राति कारागारमा सुतिरहेका कैदीबन्दी माथि कैदीबन्दीकै अर्को समूहले साङ्घातिक हमला गर्दा एकजना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए। उक्त घट्नामा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो।
अर्का गम्भीर घाइते आयुष भट्टलाई थप उपचारका लागि हिजो बेलुकीनै नेपाली सेनाको स्काइ ट्रकबाट काठमाडौँ लगिएको थियो । घाइते एक जनाको निसर्ग अस्पताल र अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।