काठमाडौं । कर्णाली प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ ।
स्थापना दिवसको अबसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
२०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा शहीद दिवस उत्सवका रूपमा मनाउने तयारी छ ।
प्रदेश स्थापना दिवसको पृष्ठभूमिमा २०७२ सालको संविधानसभाबाट सङ्घीयताको खाका सार्वजनिक भएपछि कान्छो प्रदेशका रूपमा कर्णाली प्रदेशको स्थापना भएको हो । २०७२ भदौ २३ को मध्यरात प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहितको प्रस्ताव सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन उत्कर्षमा पुगेको थियो ।
चार जनाले ज्यान गुमाउनुपरेको उक्त आन्दोलनपछि अन्तत भदौ २०७२ भदौ ४ मा साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुमपश्चिम जिल्लालाई समेटेर कर्णाली प्रदेश स्थापना भएको थियो ।
