एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा पूर्ण नियन्त्रण गर्ने उद्देश्य आफ्नो देशले राखेको बताएका छन् ।
अमेरिकी टेलिभिजन फक्स न्युजसँगको कुराकानीमा उनले गाजालाई नियन्त्रणमा राख्ने बताएका हुन् । इजरालयको सुरक्षालाई सुनिश्चित गर्न हमासलाई हटाउन र गाजालाई हमासको आतंकबाट मुक्त गर्न सेनाले चाहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमास र इजरायलको विनाशको पक्षपोषण गर्ने कुनै निकाय नहोस भन्ने आफ्नो चाहाना रहेको प्रधानमन्त्री नेतन्याहुले बताए । गाजामा शासन र प्रशासनिक निकायको रूपमा रहन भने नचाहेको उनले उल्लेख गरे ।
पछिल्ला केही दिनदेखि सञ्चारमाध्यममा प्रधानमन्त्री नेतन्याहूले गाजामा पूर्ण नियन्त्रण गर्ने योजना बनाएको खबर सार्वजनिक हुँदै आएका छन् । तर, इजरायलका विपक्षी नेता याइर लापिडले नेतन्याहूको गाजामा पूर्णनियन्त्रण लिने प्रस्तावलाई अर्को युद्ध र बन्धक तथा हत्याको प्रस्ताव भनेका छन ।
संयुक्त राष्ट्रसंघले पूर्ण सैन्य नियन्त्रणले प्यालेस्टिनी नागरिकहरू र इजरायली बन्धकहरूका लागि विनाशकारी परिणामहरू निम्त्याउनसक्ने चेतावनी दिएकै बेला उनको भनाइ आएको हो । इजरायलरस्थित बेलायतका राजदूतले यो ठूलो गल्ती हुने बताएका छन् ।
हमासले जवाफमा नेतन्याहूले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न गाजामा बाँकी रहेका इजरायली बन्धकहरूलाई बलिदान गर्न तयार रहेको देखाएको चेतावनी दिएको छ । गाजामा हालसम्म इजरायली सेनाले करिब ७५ प्रतिशत भू भागमाथि नियन्त्रण कायम गरिसकेको छ । नियन्त्रणमा लिने नेतान्याहुको भनाइको विरोधमा नेतन्याहुको कार्यालय अगाडि सयौं प्रदर्शनकारीहरूले गाजामा युद्ध विस्तारको विरुद्ध प्रदर्शन गरेका छन् ।
गाजामा अझै ५० जना बन्धक रहेका छन् । जसमा २० जना जीवित रहेको विश्वास गरिएको छ । झण्डै २२ महिनादेखिको युद्धले गाजाको करीब २० लाख जनसंख्यालाई बारम्बार विस्थापित बनाएको छ भने भोकमरीको संकट गहिरिएको समाचारमा उल्लेख छ ।