एजेन्सी । इजरायलले दमास्कसस्थित सिरियाली रक्षा मन्त्रालय र दक्षिणी सिरियामा सरकारी बलहरूमाथि आक्रमण गरेपछि तनाव बढेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेना आफ्ना ‘ड्रुज दाजुभाइहरूलाई बचाउन र शासनका गिरोहहरूलाई समाप्त गर्न काम गरिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नेतन्याहुले इजरायल र इजरायली कब्जामा रहेको गोलान हाइट्समा बस्नेहरूसँगको गहिरो सम्बन्धका कारण सिरियामा ड्रुजलाई हानि हुनबाट रोक्न प्रतिबद्ध रहेको बताए । सिरियाको विदेश मन्त्रालयले इजरायलमाथि ‘विश्वासघाती आक्रमण’ को आरोप लगाएको छ ।
ड्रुज मिलिशिया र बेडौइन जनजातिहरूबीच झडप भएयता ३ सय भन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हिंसाप्रति ‘निकै चिन्तित’ रहेको बताएका छन् । सिरियाको विदेश मन्त्रालयले ‘वर्तमान संकटलाई शान्तिपूर्ण रूपमा समाधान गर्न’ अमेरिका र अरब पक्षहरूले गरेका प्रयासको स्वागत गरेको छ ।
इजरायलले भने युद्धविरामको प्रयासबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । डिसेम्बरमा विद्रोहीले राष्ट्रपति बशर अल असदलाई अपदस्थ गरेयता पहिलो पटक सुवेदा शहरमा सिरियाली सुरक्षा बल तैनाथ भएपछि इजरायलले आक्रमण गरेको हो ।