एजेन्सी । भारत र चीनले सीमा विवाद समाधान गर्न विशेषज्ञ समिति गठन गर्ने भएका छन् ।
चीनका विदेश मन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा दुईदेशबीच समिति मार्फत सकेसम्म चाँडो सीमा निर्धारण गर्न समाधान खोज्ने सहमति भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्र मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलले चिनियाँ परराष्ट्र मन्त्री वाङ यीसँगको भेटपछि भारतीय परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै दुवै पक्षबीच प्रत्यक्ष हवाई उडान शीघ्र शुुरु गर्ने र भारतीय श्रद्धालुलाई कैलाश मानसरोवरको यात्रा बढाउने सहमति भएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदी छिमेकी चीनमा हुने शाङ्घाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा सहभागी हुनेछन् । सो अवसरमा दुवै पक्षले लिपुलेक पास, शिप्कि ला र नाथुला हुँदै सीमा व्यापार पुनः शुुरु गर्ने निर्णय गरेका छन् ।
पूर्वी र मध्य क्षेत्रमा पनि जनरल स्तरको संयन्त्र बनाउने तथा पश्चिमी क्षेत्रमा विद्यमान संयन्त्रलाई निरन्तरता दिने सहमति पनि दुईदेशबीच भएको छ ।
सन् २०२६ को ब्रीक्स शिखर सम्मेलन भारतमा र २०२७ को सम्मेलन चीनमा आयोजना गर्ने निर्णय पनि भएको समाचारमा उल्लेख छ ।
सन् २०२० मा गलवानमा भएको झडपपछि दुई देशबीचको सम्बन्धमा आएको कटुतापछि पछिल्ला दिनमा सुधार हुँदै आएको छ ।।