काठमाडौं । पाल्पामा नसर्ने रोगबाट प्रभावित बिरामीको सङ्ख्या उच्च देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–०८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ ।
स्वास्थ्य कार्यालयले यहाँका १० वटै पालिकामा ३० वर्षभन्दा माथि उमेर समुहका १३ हजार ५३६ जनामा स्क्रिनिङ्ग गरेको थियो । जसमा ७५ प्रतिशत सामान्य रहेकोमा २५ प्रतिशतमा मधुमेहको समस्या, १४ दशमलव ५ प्रतिशतमा सामान्य तौल भएको, २ दशमलव ७ प्रतिशतमा कम तौल भएको, ३४ दशमलव ३ प्रतिशतमा बढी तौल भएका र ४८ दशमलव ५ प्रतिशतमा मोटोपन भएको पाइएको छ ।
उच्च रक्तचापको अवस्थामा २२ प्रतिशत सामान्य रहेको र ७८ प्रतिशतमा शुरुवाती चरणदेखि उच्च अवस्थामा पुगेको पाइएको छ । सबैभन्दा बढी मधुमेहका बिरामी बगनासकाली गाउँपालिकामा देखिएका छन् । फरक–फरक उमेर समूहमा परीक्षण गर्दा कडा प्रकृतिको मधुमेह सबैभन्दा बढी यहाँ ८ प्रतिशत भेटिएको कार्यालयको तथ्याङ्कमा छ ।
सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ३ दशमलव ३ प्रतिशत बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकामा ७ दशमलव ५ प्रतिशत, माथागढी गाउँपालिकामा ६ दशमलव ६ प्रतिशत, रामपुर नगरपालिकामा ६ दशमलव ३ प्रतिशत, रिब्दीकोट गाउँपालिकामा ४ दशमलव ८ प्रतिशत, रैनादेवी गाउँपालिका र तानसेन नगरपालिकामा ४ दशमलव ७ प्रतिशत, निस्दी र तिनाउ गाउँपालिकामा ३ दशमलव ५ प्रतिशतमा कडा प्रकृतिको मधुमेह भेटिइएको बताइएको छ ।