काठमाडौं । नेपाली कांग्रेसले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ ।
सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।
महतले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको उल्लेख गरे । उनले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको भन्दै अनुभवका आधारमा संविधानमा भएका त्रुटीहरूलाई सुधार गर्नुपर्नेमा जोड दिए। प्रवक्ता डा महतले त्रुटीहरूलाई समाधान गर्नेगरी संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्ने कुरा सरकारले गरेको स्पष्ट पारे ।
उनले भने“यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैँले दिएको निर्माण गरेको संविधान हो । आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ । जति पनि विषयवस्तुहरू अनुभवको आधारमा सुधार गर्नुपर्छ जस्तो लाग्छ । त्यसको निक्र्यौल पनि जनप्रतिनिधिहरूको संस्था संसद्ले नै अगाडी बढाउँछ । त्यसो हुनाले हामीले संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्छ भनेर सरकारले भनेको हो । संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो । सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ ।”
कांग्रेस पदाधिकारी बैठकमा क्रियाशिल सदस्यता आगामी असारसम्म सम्पन्न गर्न पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल गरिएको छ । प्रवक्ता महतले पार्टीको केन्द्रिय कमिटीको बैठक छिटै बस्ने जानकारी दिए । उक्त बैठकमा गणतन्त्र, समावेशीता लगायतका संविधानले दिएका उपलब्धिहरुको रक्षा, पार्टीलाई सक्रियता बनाउने र आगामी दिनका आर्थिक रुपान्तरण लगायतका चुनौतीहरुको सामना गर्ने लगायतका विषयमा छलफल गरिने बताए ।
आफूहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको बताउँदै राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको बताए ।