Siddarth bankविज्ञापन
समाज

पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौतीमा देवताबिच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) बुधबार राति सम्पन्न भएको छ । 

जात्राको अन्तिम दिन पूर्णिमामा दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भाग दौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकापसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ । सम्पूर्ण पूजा–अर्चना गरी रथयात्रा सम्पन्न गरी आज राति अबेर चिराग पूजा गरेपछि जात्रा सम्पन्न भएको हो । 

किंवदन्ती अनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई लखेट्दा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको यो जात्रा विशेष रूपमा सोमबार साँझदेखि करिब ५० मिटर चौडा पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुई वटा बाँस तेर्स्याइएको र देवगण (दुइचा न्याकेगू) हरूलाई सुस्तरी तारेपछि शुरु भएको थियो । किंवदन्ती अनुसार महादेव त्रिवेणीमा हामफालेर लुक्दा पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यमा अबिरजात्रा गरी रथ जुधाइने गरिँदै आइएको हो । 

जात्राको अन्तिम दिन आज लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् भन्ने मान्यता रहँदै आएको स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए । उनका अनुसार धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिकसम्बन्ध प्रस्तुतिका रूपमा लिइएको हो । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्ने गर्छन् । 

इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले पहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः कामक्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो, तर पछिल्ला केही वर्षदेखि देवतारूपी रथलाई ठुलो सहभागितामा दिउँसो जुधाउने गरिँदै आइएको हो । 

पनौती जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा सुरुआतको दिन सोमबार राति १० बजे भद्रकालीको रथ तानेर रातभरि गैँडू पूजा (होम गर्ने) गरिएको थियो । दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगर परिक्रमा गराई साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिएको थियो ।

स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गरेका छन् । भोजका लागि प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम छ । त्रयोदशीदेखि पूर्णिमासम्म जात्रा मनाएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा शुरु हुने मान्यता रहँदै आएको छ । 

किंवदन्ती अनुसार परापूर्व कालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुल जस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउँछन् । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको ठुलो जात्राका रूपमा लिने गरिएको छ । सोही अनुसार पनौती नगरपालिकाले मङ्गलबार र बुधबार जात्रा मनाउन सार्वजनिक बिदा दिएको थियो । 

यसैगरी, जात्राको परम्परा अनुसार जात्राका क्रममा विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर स्थानीय कर्माचार्य समुदायका (आचाजु) हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा ‘न्ह्यायकेगू’ भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास पनि गरिन्छ । 

धार्मिक आधारमा रथ जुधाउने परम्परालाई यौनिकता प्रस्तुतिका रूपमा लिइने गरिन्छ । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गरेको देख्न पाइन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठुलो अनिष्ट हुने, खडेरीले दुःख दिने जस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *