एजेन्सी । म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
जसमा तीन बालबालिका पनि रहेका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् । सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले उक्त गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गुम्बा शान्त र सुरक्षित हुने विश्वासमा बसेका मानिसहरू अचानक हवाई आक्रमणको शिकार बनेका हुन् । हवाई आक्रमणबाट गुम्बा पूर्ण रूपमा ध्वस्त भएको छ भने धेरै शवका शरीरका भाग छुट्टिएको अवस्थामा भेटिएका छन् ।
सन् २०२१ मा सैनिकले निर्वाचित सरकारलाई हटाएर सत्ताकब्जा गरेपछि म्यान्मा गृहयुद्धमा फसेको हो । सागाइङ विद्रोहीको बलियो प्रभाव क्षेत्र भएकाले सेना बारम्बार त्यहाँ आक्रमण गर्दै आएको समाचारमा उल्लेख छ ।
युद्धविरामको घोषणा भए पनि सेनाले हवाई आक्रमण जारी राखेको छ । यसअघि, मे महिनामा भएको एक आक्रमणमा विद्यालयका २० विद्यार्थी र दुई शिक्षकको ज्यान गएको थियो ।