समाज

राष्ट्रपति पौडेलद्वारा धान दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा धान दिवसको शुभकामना

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले विकास गरी श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् । 

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै  उनले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको बताए ।  राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याएका छन् । 

नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन शुरू गरिएको हो । यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइँदै छ । 

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हकको व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धानखेतीको प्रवर्द्धन गर्नु आवश्यकता औँल्याएका छन् । 

विश्वव्यापी जलवायु परिवर्तनले धानखेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, किसान र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवं उत्पादकत्व बढाउँदै धानबालीको विविधिकरण गर्नुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले नेपालमा धानखेतीका लागि पर्याप्त सिँचाइको व्यवस्था भइनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाउने बताउँदै धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *