गुल्मी । गुल्मीको सदरमुकाम तम्घास स्थित महेन्द्र नमूना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओको तर्फबाट विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गर्ने प्रक्रिया अन्र्तगत सो लोगो चिन्ह हस्तान्तरण गरिएको हो ।
विद्यालयलाई आईएसओ नेपाल प्रतिनिधि सुदिप शर्माले रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरको रोहवरमा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पन्थी र प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीलाई उक्त अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह हस्तान्तरण गरिएको हो ।
विद्यालयले कुल ५२ वटा सूचकहरु मध्ये २० प्रतिशत सूचक पुरा गरेपछि उक्त चिन्ह हस्तान्तरण गरिएको हो । विद्यालयले एकवर्ष भित्रमा उक्त सबै सूचक पूरा गरेर आईएसओ प्रमाणपत्र प्राप्त गर्नका लागि बाटो खुला भएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताएका छन् । उनले विद्यालयमा शैक्षिक सुधारसँगै भौतिक रुपमा पनि सुधार गरेपछि चिन्ह प्राप्त गरेको बताए ।
विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गर्न निश्चित गुणस्तर सूचकहरू पूरा गर्नुपर्ने बताईएको छ । यस्ता प्रकारका सूचकहरूमा शिक्षा, प्रशासन, विद्यार्थी सेवा, पूर्वाधार र मूल्याङ्कन लगायतका क्षेत्रमा आधारित रहेका हुन्छन् ।
विद्यालयले अन्तरास्ट्रिय गुणस्तर चिन्हको प्रमाणपत्र प्राप्त गरेपछि महेन्द्र नमुना माध्यमिक विद्यालयबाट अध्ययन गरेर अन्यत्र जाने विद्यार्थी अन्र्तरास्ट्रिय बजारमा सबै विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने बताईएको छ ।