समाज

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । 

स्वदेशमै उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा धान चामलका लागि ठूलो रकम बाहिरिएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब १८ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको छ । 

अघिल्लो वर्ष २२ अर्ब २२ करोड रुपैयाँको धान चामल आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झन्डै दोब्बर परिमाणले आयात बढेको छ । गत आर्थिक वर्षमा भारतले चामल निर्यातमा खुकुलो गरेकाले पनि आयात बढी भएको तथ्याङ्कले देखाएको छ । 

गत आर्थिक वर्षमा सबैभन्दा धेरै २१ अर्ब ५२ करोड २७ लाख ८४ हजार रुपैयाँ बराबरको ५३ करोड ३७ लाख १५ हजार २५९ केजी धान आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा १२ अर्ब ९४ करोड १० लाख ८८ हजार बराबरको ३२ करोड ११ लाख १९ हजार ३१३ केजी धान आयात भएको थियो । 

यस्तै, गत आर्थिक वर्षमा १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार बराबरको २४ करोड १५ लाख ५३ हजार ३२५ केजी चामल आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको आठ करोड ८७ लाख २३ हजार ५०६ केजी चामल आयात भएको थियो । मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको आवश्यक पर्ने गर्छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले देखाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *