समाज

राजा बीरेन्द्रको बंशनाश भएको २४ वर्ष पुग्दा पनि हत्याकाण्ड रहस्यमै

राजा बीरेन्द्रको बंशनाश भएको २४ वर्ष पुग्दा पनि हत्याकाण्ड रहस्यमै

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ ।

२०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो ।

अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो ।  दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिए पनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् ।हत्याकाण्ड अझै रहस्यमै छ ।

 २४औँ स्मृति दिवसका अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ । यसैविच पूर्वराजपरिवारका सदस्यहरुले आज दीप प्रज्वलन  कार्यक्रम गर्दैछन् । दीप प्रज्वलनको कार्यक्रम कमलादी गणेश मन्दिरमा राखिएको छ । यो कार्यक्रम हिमानी ट्रष्टले राखेको हो । हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल र उपाध्यक्ष उनीहरुकी बुहारी हिमानी शाह छिन् ।

तत्कालीन राजपरिवारका सदस्यहरुको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गर्ने तयारी गरेपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको ट्रष्टले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *