समाज

रोजगार बजार अनुसारको जनशक्तिको विकास गर्न जोड दिनुपर्छः राष्ट्रपति पौडेल

रोजगार बजार अनुसारको जनशक्तिको विकास गर्न जोड दिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता भएको बताएका छन् । 

शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्  । राष्ट्रपति पौडेलले  स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शिलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताए ।

राष्ट्रपतिले  विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । गुणस्तरीय प्राविधिक र प्रतिष्पर्धाको पक्षलाई ध्यान दिइ भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रुपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत दुवै पक्षले उत्तिकै ध्यान दिन जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ छ । 

राष्ट्रपति पौडेलले ज्ञान, चेतना, जागरण र रुपान्तरणमा शिक्षाको भुमिका महत्वपूर्ण हुने बताउँदै सभ्य र सुसंस्कृति  आधुनिक समाज निर्माणमा मात्र नभइ राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको उल्लेख गरे ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *