काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनविरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिएका छन् ।
कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीले राजतन्त्र फर्किने भ्रममा कोही पनि नपर्न आग्रह गरे । ओलीले अहिलेका आन्दोलनहरु केही समयका लागि उचालिएका गतिविधि मात्रै भएको जिकिर गरे ।
ओलीले पूर्वराजा शाह दरबार हत्याकाण्डपछि भवितव्यले राजा भएको भन्दै पूर्वराजा शाहले गरेका कामहरु पनि देखेको बताए । कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले प्रतिगमन रोक्न र देशको रक्षा गर्न अग्रभागमा नेकपा एमाले रहने बताए ।