मुख्य समाचार

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पुग्ने पहिलो भारतीय शुक्लासहित ४ जना अन्तरिक्षयात्री पृथ्वी फर्किए

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पुग्ने पहिलो भारतीय शुक्लासहित ४ जना अन्तरिक्षयात्री पृथ्वी फर्किए

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा पुग्ने पहिलो भारतीय नागरिक शुभांशु शुक्लासहित चार जना अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका छन् । 

भारत, पोल्याण्ड र हङ्गेरीका गरी चार जना यात्री बोकेको अन्तरिक्ष यान प्रशान्त महासागरमा अवतरण भएको हो । ह्युस्टन कम्पनी एक्जिओम स्पेस कम्पनीले तीन हप्ताअघि चार जना यात्रीसहित चार्टर्ड उडान प्रक्षेपण गरेको थियो । चार सदस्यीय टोलीले केन्द्रमा ६० वटा बैज्ञानिक परीक्षण गरेकोमा तीमध्ये सात वटा भारतीय अन्तरिक्ष अनुसन्धान निकाय इसरोले गरेका परीक्षण हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्लाको एक सीट र तालिमका लागि इसरोले पाँच अर्ब भारतीय रुपैयाँ तिरेको थियो । शुक्ला आइएसएसमा पुग्ने पहिलो र अन्तरिक्ष यात्रा गर्ने दोस्रो भारतीय नागरिक हुन् । इसरोले शुक्लालाई प्राप्त भएको व्यावहारिक अनुभवले भविष्यमा मानवलाई अन्तरिक्ष उडानमा लैजाने योजनामा भारतलाई सहयोग गर्ने बताएको छ ।

इसरोले भारतको पहिलो मानव अन्तरिक्ष उडान सन् २०२७ मा शुरु गर्न लक्ष्य लिएको छ । यस्तै इसरोले सन् २०३५ सम्म एउटा अन्तरिक्ष स्टेशन स्थापित गर्ने र सन् २०४० सम्ममा एक अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने महत्वकांक्षी योजना घोषणा गरेको समाचारमा उल्लेख छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *