काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेशप्रसाद प्रधानले सरकारलाई उद्योगको ताला बुझाएर विदेश पलायन हुने स्थिति नआओस् भनेका छन् ।
औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिले सरकारलाई बुझाएको औषधि मूल्य नीति सुझावप्रति नेपाल औषधि उत्पादक सङ्घले विमति जनाएको छ ।
अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा बनाइएको समितिले मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेको हो । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेशप्रसाद प्रधानले औषधिको मूल्य समायोजन गर्ने पद्धतिमा आफूहरूको असहमति रहेको बताएका छन् । उनले औषधिको मूल्य निर्धारण तथा मूल्य समायोजनप्रति समितिको विधिमा सहमति रहेको जिकिर गरे ।
उनले २०७५ साल माघ २ गते औषधिको मूल्यको बारेमा औषधि परामर्श परिषद्ले सरकारलाई दिएको विधिहरू लागू नभएको भन्दै गुनासो गरे । उनले औषधि परामर्श परिषद्को सुझावहरू लागू नभएको अवस्थामा फेरि अर्को विधि अनुसार औषधिको मूल्य निर्धारणको कोसिस भएको भन्दै आपत्ति जनाए ।
सङ्घका अध्यक्ष प्रधानले औषधि परामर्श परिषद्ले दिएको सुझाव अहिलेसम्म कार्यान्वयन नभएको अवस्थामा सशङ्कित हुन बाध्य बनाएको बताए । उनले २०६४ सालमा मूल्य निर्धारण भएपछि अहिलेसम्म त्यो मूल्यमा परिमार्जन नभएको जिकिर गरे । उनले नयाँ विधिले अरू पनि औषधि समेटेर बिगार्ने पो हो की ? भन्ने चिन्ता रहेको उल्लेख गरे । प्रतिवेदनमा उल्लेख गरेको पद्धतिले उद्योगमाथि बढ्ने नभई तल झर्ने चिन्ता व्यक्त गरे ।