एजेन्सी । युरोपेली युनियन (ईयू)का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् ।
सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण कुनै ठोस निर्णय लिन भने कठिन हुनसक्ने अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ईयू विदेश नीति प्रमुख काया काल्लासले इजरायलले मानव अधिकार सम्बन्धी द्विपक्षीय सम्झौताको उल्लङ्घन गरेको निष्कर्षपछि १० बुँदे सम्भावित उपाय बैठकमा प्रस्तुत गरेका छन् ।
ती उपायमा सम्पूर्ण सम्झौता स्थगन, व्यापार सम्बन्ध सीमित गर्ने, इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने, हतियार प्रतिबन्ध तथा भिसा–मुक्त यात्रा रोकिने जस्ता विकल्पहरू समावेश छन् । तर, गाजामा भइरहेको विनाशप्रति बढ्दो असन्तुष्टिका बीच पनि ईयू सदस्य राष्ट्रहरू इजरायलप्रति अपनाउने नीति विषयमा विभाजित देखिएका छन् ।
गाजामा झन्डै २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन् । इजरायलले हमासविरुद्धको युद्धको क्रममा मानवीय सहायता अत्यधिक सीमित पारेको छ । युद्धको शुरुवात सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि भएको थियो । जसमा एक हजार दुई सय १० जनाको ज्यान गएको थियो । जसमध्ये अधिकांश सर्वसाधारण थिए ।
हमासले अपहरण गरेका दुई सय ५१ मध्ये ४९ जना अझै गाजामा छन । जसमा २७ जनालाई इजरायली सेनाले मृत घोषणा गरिसकेको छ । इजरायली आक्रमणमा अहिलेसम्म ५८ हजार तीन सय ८६ भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको समाचारमा उल्लेख छ ।