सर्लाही । समयमै पर्याप्त वर्षा नहुँदा सर्लाही जिल्लाका अधिकांश खेतमा यस वर्ष धान रोपाइँ हुन सकेको छैन ।
खडेरीका कारण धान रोपाइँ नहुदा यहाँका किसान चिन्तित बनेका छन् । सामान्यतया असारको दोस्रो सातासम्म रोपाइँ सम्पन्न हुने सर्लाहीका अधिकांश क्षेत्रमा यो वर्ष साउनको दोस्रो सातासम्म पनि खेत सुक्खा देखिन्छन् । मल, बीउ र तयारी भए पनि पानीको अभावले गर्दा रोपाइँ गर्न नसकेको किसानको भनाइ छ ।
कृषि ज्ञान केन्द्र, सर्लाहीका अनुसार जिल्लामा करिब ४४ हजार हेक्टर क्षेत्रफलमा वर्खे धानखेती हुने गरेको छ । बागमती सिँचाई, मनुष्मरा सिँचाई आयोजना तथा दखनदेही, झिम र बाँके खोलाबाट सिँचाई हुने क्षेत्र लगायत सर्लाही जिल्लामा करिब ५० प्रतिशत खेत रोपाइँ भईसकेको अनुमान गरिएको छ ।
सदरमुकाम मलङ्गवा लगायत जिल्लाको पूर्व क्षेत्रमा पर्ने अधिकांश धान खेत बाँझै रहेको छ । सर्लाहीको पश्चिमी भेगमा रहेका धेरैजसो खेत नहर र पम्प सेटको भरमा धान रोपिएको छ । धान रोपिएको खेतमा समेत पानी सुकेपछि ठूलो ठूलो चिरा परेका छन् ।
पर्याप्त पानी नहुँदा नहरहरू सुकेका छन् भने पम्प सेट चलाउन डिजेलको मूल्यवृद्धिले थप समस्या सिर्जना गरेको छ ।