काठमाडौं । दिवंगत राजपरिवारका सदस्यको सम्झनामा पूर्वराजपरिवारका सदस्यहरुले कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरेका छन् ।
पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरूले दिवंगत राजपरिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमा ठूलो संख्यामा सर्वसाधारणहरूको पनि सहभागी रहेको थियो ।
दीप प्रज्वलनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, दीपकबहादुर सिंह, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, जगमान गुरुङलगायत राजसंस्था पक्षधर नेताहरू सहभागी भएका थिए ।
तत्कालीन राजपरिवारका सदस्यहरुको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गर्ने तयारी गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा दीप प्रज्वलन गरिएको हिमानी ट्रष्टले जनाएको छ ।
यसैबीच, गणेश मन्दिरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र(को भ्रातृ संगठन वाइसिएलका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् । पूर्वराजपरिवारका सदस्यहरुले श्रद्धाञ्जलि अर्पण गर्दै दीप प्रज्वलन गरिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेका वाइसिएलका कार्यकर्ताले ढुंगा हानेका हुन् ।