ताप्लेजुङ । ताप्लेजुङको दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आएको चौँरी (याक) पालन पछिल्ला वर्षहरूमा घट्दो क्रममा रहेको छ ।
वैदेशिक रोजगारी, शहरीकरण, मौसम परिवर्तन र नयाँ पुस्ताको चासो अभावका कारण याक पालनप्रति आकर्षण कम हुँदै गएपछि पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहहरूले याक संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू अघि सारेका छन् ।
सिरिजङ्घा गाउँपालिकाले गत आर्थिक वर्षमा याकप्रति जनचासो बढाउन ‘चौंरी प्रदर्शन कार्यक्रम’ आयोजना गरेको थियो । जिल्लामै पहिलोपटक आयोजना गरिएको प्रदर्शनीमा उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रममा याकको शरीर बनोट, सिङको आकार, पुच्छरको बनावट, चालचलन र स्वभावका आधारमा मूल्याङ्कन गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट ठहरिएका याक पालकलाई २८ हजार ५८८ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो भने अन्य सहभागी कृषकलाई प्रोत्साहन स्वरूप आठ हजार ५८६ रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो । याक प्रवद्र्धनकै उद्देश्यले फक्ताङलुङ गाउँपालिकाले पनि गत आर्थिक वर्षमा याक पालक किसानलाई ७५ प्रतिशत अनुदानमा चौँरी वितरण गरेको थियो ।
त्यस्तै, मिक्वाखोला गाउँपालिकाले पनि २५ लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरी याक पालकलाई आवश्यक प्राविधिक सहयोग, तालिम तथा पूर्वाधार विस्तारमा सहयोग पर्याएको थियो । मैवाखोला गाउँपालिकाले पनि पाँच लाख रुपैयाँ बराबरको याक प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय तहहरुले अघि सारेका यस्ता कार्यक्रमले मनोबल बढाएको कृषकहरुले बताएका छन् । चौंरी (याक) ताप्लेजुङको उच्च हिमाली क्षेत्रको पारिस्थितिक, सांस्कृतिक र आर्थिक जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको छ ।