काठमाडौ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । बुधबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीले नेपाल कम्युनिस्ट पार्टीको घोषणा गरेका हुन् । पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधव कुमार नेपाललाई चयन गरिएको छ । एकता घोषणा कार्यक्रममा पार्टी एकतामा आएका दलका सवै नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको हुने र पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सवै दलका नेताहरुले अनुमोदन गरेका थिए । एकता सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको छ । नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । नेपाली कम्युनिस्ट पार्टीको आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । नवगठित पार्टीको नेपाल कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणा पत्र पनि सार्वजनिक गरिएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने बताइएको छ ।