एजेन्सी । लगातारको भारी वर्षा र बाढीका कारण चीनको राजधानी बेइजिङमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
अत्यधिक वर्षा पछि उद्धार र राहत कार्य तीव्र पारिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ मौसम पूर्वानुमानका अनुसार वर्षा आजसम्म जारी रहने सम्भावना छ ।
बाढीका कारण ८० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीबाट सडकहरू, घरहरू र पूर्वाधारहरूमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक परेमा सुरक्षित स्थानमा जान सुझाव दिइएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले पूर्ण क्षमतासहित खोज तथा उद्धार कार्य संचालन गर्न निर्देशन दिएका छन् । थप क्षति रोक्न पनि सबै उपाय अपनाउन समेत उनले आह्वान गरेका छन् ।
यसअघि बेइजिङमा सन् २०१२ जुलाईमा आएको बाढीमा ७९ जनाको मृत्यु भएको थियो ।
