डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा रहेको छलगाड लघु जलविद्युत परियोजनाको नहरको मुहान बाढीले कटान गरेपछि चार गाउँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
गत असार अन्तिममा आएको बाढीले पहिलो पटक नहर कटान गरेपछि त्रिपुराकोट, रल्ली, गल्ली र करेलीकाँडा गाउँका ३५० घरधुरीका बासिन्दा उज्यालोबाट बञ्चित भएका थिए । त्यसपछि आर्थिक अभावका बीच वडाले तीन लाख रुपैयाँ बजेट सुनिश्चित गरी साउन १७ गते मर्मत कार्य अन्तिम चरणमा पुर्याउँदा पुन: आएको बाढीले मुहान फेरि बगाएको हो ।
२०६४ सालमा विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा निर्माण भएको लघुजलविद्युत योजना मर्मतका लागि यसअघि पनि बजेट छुट्याइएको थियो ।
अहिलेको अवस्थामा बाढीले क्षति पुगेको मुहानसहित विद्युत गृहका उपकरण समेत प्रतिस्थापन गर्न करिब २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अन्धकारमा बस्न बाध्य स्थानीयले तत्काल ममर्त गरी विद्युत सूचारु गर्न माग गरेका छन् ।