काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन । आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।
भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएका प्रमुख प्रतिपक्षी दल माओवादी सहितको बिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् ।
सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले संसद् चल्न ढिला भइरहेको बताए । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग रहेको सापकोटाले जानकारी दिए।
यसैबीच बुधबार दिउँसो संसद् भवनमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीले पुरानै अडान यथावत रहेको बताएको छ । उसले गृहमन्त्री रमेश लेखक पनि भिजिट भिसा प्रकरणमा जोडिएको आशंका गर्दै लेखकले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्ने बताउँदै आएको छ ।