काठमाडौं । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दुई पुरूष र एक महिलामा कोभिड पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका हुन् ।
कञ्चनपुरको पुनर्वासका २० वर्षका पुरूष, अछामको ढकारीका ३२ वर्षीय पुरूष र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । भारतको विभिन्न शहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण बढेकाले महामारी निम्तन नदिन सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ ।