काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको बताएका छन् ।
सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् ।
कृषिमन्त्री अधिकारीले ग्रामिण तहमा सामुदायिक क्याम्पस नभएको भए लोकतन्त्रमाथि प्रश्नचिन्ह खडा हुने बताए । सामुदायिक क्याम्पसहरुकै कारण लोकतन्त्र बाँचेकाले यस्ता संस्थालाई बचाउनुपर्ने बताए । उनले युवाहरु विदेश पलायन भइरहेको बारेमा सरकार गम्भीर रहेको र आगामी आर्थिक वर्षको बजेटमा त्यसको न्युनिकरणका लागि कार्यक्रम र बजेट विनियोजन गरेको जिकिर गरे । उनले युवाहरुलाई स्वदेशमै बस्ने परिस्थिति बनाउन सरकारले काम गरिरहेको बताए ।
मन्त्री अधिकारीले त्रिभूवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पसको भरमा मात्रै रहेको भए गणतन्त्र सुरक्षित हुन नसक्ने जिकिर गरे ।