समाज

नागरिक उन्मुक्तिले साधारण सदस्यसमेत नरहने गरी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो

नागरिक उन्मुक्तिले साधारण सदस्यसमेत नरहने गरी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाउने निर्णय गरेको छ । 

पार्टीको आन्तरिक विवाद चर्कँदै गएपछि पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो । अध्यक्षलाई हटाएसँगै पार्टीको नयाँ अध्यक्ष चयनबारे राष्ट्रिय भेलामा छलफल अगाडि बढाइएको पार्टीले जनाएको छ । 

पार्टीको अनुशासन आयोगका अध्यक्षसमेत रहेका नागरिक उन्मुक्तिका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले काठमाडौंमा जारी राष्ट्रिय भेलाले नयाँ अध्यक्ष चयन गर्ने विषयमा छलफल गर्ने बताए । पार्टीका संस्थापक २१ जना केन्द्रीय सदस्यमध्ये बहुमत सदस्यले केन्द्रीय समिति बैठक बोलाउन आग्रह गर्दा पनि बेवास्ता गरेको, अनुशासन आयोगलाई स्पष्टीकरणको जवाफ नबुझाएको, पार्टीको विधान नमानेको कारण देखाएर भेलाले अध्यक्षलाई हटाउने निर्णय गरेको हो ।  

त्यस्तै, आफूखुसी कार्यवाहक अध्यक्ष तोकेको र भ्रष्टाचार काण्डमा मुछिएका कारण उनलाई हटाउने निर्णय गरिएको पार्टीले जनाएको छ । यसअघि मंगलबार पार्टीको केन्द्रीय अनुशासन आयोगले अध्यक्ष श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको थियो । नागरिक उन्मुक्तिका बहुमत संस्थापक केन्द्रीय सदस्यको गत आइतबार बसेको बैठकले बहुमत सदस्यको माग अनुसार केन्द्रीय समिति बैठक नबोलाएको भन्दै अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

सो निर्णय अनुसार स्पष्टीकरण माग गरे पनि अध्यक्ष श्रेष्ठले स्पष्टीकरण नबुझाएको बताइएको छ ।  राष्ट्रिय भेलामा नागरिक उन्मुक्तिका २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जनाको उपस्थिति रहेको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *