काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानीस्थित क्रिकेट ग्राउन्ड नजिकै आइतबार बिहान चिनियाँ दूतावासको गाडी दुर्घटनामा परेको छ । बिहान करिब १० बजे तिर ११ सिडी ६१९ नम्बरको गाडी सडकबाट अनियन्त्रित भई पुलबाट तलको खोल्सामा खसेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गाडी आफै अनियन्त्रित भएको प्रारम्भिक अनुमान गरिएको छ । गाडीमा सवार ३४ वर्षीया दुई चिनियाँ नागरिक आमा र छोरी रहेका छन् । उनीहरुलाई सामान्य चोट पटक लागेको छ ।
दुर्घटना भएको खबर लगत्तै स्थानीय बासिन्दा र प्रहरी घटनास्थलमा पुगेका थिए । उनीहरूले गाडीमा सवार व्यक्तिहरूलाई सकुशल बाहिर निकाल्न सहयोग गरेका थिए ।
घटनामा संलग्न व्यक्ति चिनियाँ दूतावासका कर्मचारी हुन् वा होइनन् भन्ने विषयमा भने अझै पुष्टि भइसकेको छैन । दुर्घटनामा परेको गाडी चालककै जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
