काठमाडौ । अघिल्लो सातादेखि वीरगन्जमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । मंगलबार रातिसम्ममा थप २१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । योसँगै बीरगञ्ज महानगरमा हैजा संक्रमितको संख्या १ सय १४ पुगेको छ । हालसम्म भएको आरडीटी परीक्षणबाट १ सय १४ जनामा हैजा पुष्टि भएको हो । संक्रमित पुष्टि भएकाहरू वीरगन्ज महानगरपालिका–३, ११, १२, १३ र १६ का छन् । नारायणी अस्पतालमा ४३ र तराई अस्पतालमा ३८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । नेसनल मेडिकल कलेजमा १५, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३÷३ जनामा, अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २÷२ जनामा तथा नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी वयोधा र सर्वोत्तम अस्पतालमा १÷१ जनामा संक्रमित पुष्टि भएको छ । महानगरका विभिन्न अस्पतालमा १ सय ९९ जना झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ । विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपनि उनलाई सघन कक्षमा राखि उपचार भइरहेको छ । संघन कक्षमा भर्ना रहेका विरामी माध्य सबै भन्दा बढी ९ जना वीरगन्ज हेल्थ केयर अस्पताल र ८ जना तराइ अस्पतालमा भर्ना रहेका छन् । वीरगन्जका विभिन्न अस्पतालमा आएका विरामी मध्य ४४ प्रतिशत विरामी निको भई घर फिर्ता भएका छन । मंगलबार साँझसम्म २ सय २३ हैजा र झाडापखालाका बिरामी निको भएर घर फर्किसकेका छन् । संक्रमण नरोकिएपछि वीरगञ्जमा थप तीन दिन शैक्षिक संस्था बन्द गरिने निर्णय गरिएको छ ।