काठमाडौं । फ्रान्समा विद्यालयहरूको दयनीय अवस्था र बढ्दो महँगी विरुद्ध शनिबार पनि प्रदर्शन जारी रह्यो र दिनभर देशभरि हिंसा भड्किएको छ।
फ्रान्स सरकारका अनुसार, करिब ५ लाख ५० हजार मानिस सडकमा उत्रिएको प्रदर्शनमा कम्तीमा १,२०० जनालाई पक्राउ गरिएको छ। सरकारले यसलाई हिंसामा वृद्धि भनेको छ।
राजधानी पेरिसमा साँझसम्म दङ्गा नियन्त्रक प्रहरीसँग व्यापक झडप भएको थियो। प्रहरीले भिडमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो।
राजधानी र अन्य क्षेत्रका भवनहरूमा आगजनी गरिएको छ। लिमोज सहरको टाउन हलमा लागेको भीषण आगोका कारण छानाको एक भाग भत्किएको छ।
कैयौँ सहरमा लुटपाट सुरु भएको छ। टाउन हल र व्यावसायिक प्रतिष्ठानहरूलाई निसाना बनाएर ठूलो मात्रामा तोडफोड गरिएका खबरहरू पनि बाहिर आएका छन्।
पेरिसमा पनि तोडफोड र आगजनी
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाका क्रममा १५० प्रहरी घाइते भएको बताएका छन्।
पेरिसमा दिउँसोको समयमा मुख्य मार्च धेरै हदसम्म शान्तिपूर्ण देखिएको थियो। युवाहरूको एक समूहले आफूहरू शान्तिवादी भएको र केवल अवस्था बदल्ने प्रयास गरिरहेको, तर केही पनि नबदलिएको प्रतिक्रिया दिएको बीबीसीले लेखेको छ ।
यद्यपि, दिन ढल्किँदै जाँदा केही समूहले सडकमा आगो लगाए र सवारीसाधनहरू जलाए। सहरको केन्द्रमा रहेको ‘प्लास डे ला रिपब्लिक’ जस्ता प्रमुख स्थानहरू पनि निसानामा परेका थिए।
पसलहरू तोडफोड गरी सामान लुटिएको छ। कम्तीमा एउटा रेस्टुरेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ।
केही समूहहरूबीच कुटाकुट भएको पनि देखेको बीबीसीले उल्लेख गरेको छ । मध्य पेरिसमा दङ्गा नियन्त्रक प्रहरीहरू भिडतर्फ अघि बढेको र कैयौँ मानिसलाई लाठीले पिटेको देखिएको थियो।
ऐतिहासिक भवनमा आगजनी
लियोनका मेयर ग्रेगोरी डुसेटले सहरको पर्यटन कार्यालयमा आगो लगाइएको घटनालाई सहरका लागि ‘एक त्रासदी’ भनेका छन्। उनले बीएफएमटीभीसँग भने, ‘यसले हाम्रो मन दुख्छ, किनकि यो एउटा निकै प्रसिद्ध र ऐतिहासिक भवन हो।’
स्थानीय प्रहरीले उग्र मानिसहरूले दमकलकर्मीहरूलाई सुरक्षित रूपमा आगो निभाउनबाट रोकेको बताएको छ।
दमकलकर्मीहरूले लिमोज टाउन हलमा लागेको आगो नियन्त्रण गर्ने प्रयास पनि गरेका थिए। आगलागीका कारण भवनको एक भाग भत्किएको छ। दक्षिण-पूर्वी सहर सेन्ट-इटिएनका मेयर रेजिस जुआनिकोले सामाजिक सञ्जालमा एक युवकको ‘ग्रेनेडले हात उडेको’ बताएका छन्। उनले थपे, ‘यस्तो त्रासदी कहिल्यै हुनु हुँदैनथ्यो।’
गृहमन्त्रालयले प्रदर्शनका क्रममा राजधानीका केही भागका साथै मार्सेई, रेनेस, टुलुज र आन्जे लगायत कैयौँ ठाउँमा ‘नकाबपोश मानिसहरू’ले ‘लक्षित हिंसात्मक घटनाहरू’ गराएको बताएको छ। फ्रान्सका ग्रेनोबल, एभिन्यो, पो, मोन्टपेलियर र भ्यालेन्स सहरहरूमा भवनहरूमा क्षति पुगेका खबरहरू बाहिर आएका छन्।
पेरिसमा कपडा र खानेकुराका पसलहरू लुटिएका छन् भने लिल सहरमा एप्पल स्टोरभित्र पसेर त्यहाँका सामानहरू लुटिएको छ। ग्रेनोबल सहरको केन्द्रस्थित एउटा साँघुरो सडकमा नकाबपोश मानिसहरू पर्यटकको रेल चलाउँदै कम्तीमा तीन जना दङ्गा नियन्त्रक प्रहरीतर्फ अघि बढिरहेको देखिएको भिडियो बीबीसी भेरिफाईले पुष्टि गरेको जनाएको छ ।
पछिल्ला केही हप्तायता लाखौँ विद्यार्थीले देशका ‘लाइसी’ अर्थात् माध्यमिक विद्यालयहरूमा कर्मचारीको अभाव र जीर्ण पूर्वाधारविरुद्ध प्रदर्शन गरिरहेका छन्। यी विद्यालयहरूमा १५ देखि १८ वर्षसम्मका बालबालिका पढ्छन्।
सेप्टेम्बरको अन्त्यदेखि नै फ्रान्सेली विद्यार्थीहरूले राम्रो अवस्थाको माग गर्दै देशभरका सयौँ हाईस्कुलका ढोकाहरू बन्द गरिदिएका छन्। यी प्रदर्शनका क्रममा सुरक्षा बलहरूसँग झडप पनि भएको छ।
फ्रान्सका विद्यालयहरूमा थप लगानीको माग गर्दै हाईस्कुल र विश्वविद्यालयका विद्यार्थीहरूको ठूलो प्रदर्शन जारी छ। देशका केही ठूला युनियनहरूको गठबन्धन पनि उनीहरूसँग जोडिएको छ।
शनिबार ट्रेड युनियनका सदस्यहरू र अन्य विरोध समूहहरू सामेल भएपछि प्रदर्शनकारीहरूको सङ्ख्या झनै बढेको थियो।
यी समूहहरूमा ‘येलो भेस्ट’ आन्दोलन पनि समावेश छ। यस आन्दोलनका सदस्यहरूले सन् २०१८ देखि एक वर्षभन्दा बढी समयसम्म बढ्दो महँगी अर्थात् जीवनयापनको लागतविरुद्ध प्रदर्शन गरेका थिए। यो फ्रान्सको इतिहासमै सबैभन्दा लामो समयसम्म चलेको विरोध आन्दोलनमध्ये एक बनेको थियो।
फ्रान्समा विरोध प्रदर्शन र अशान्तिका घटनाहरू नयाँ होइनन्, तर यसपटकको प्रदर्शन यस्तो समयमा भइरहेको छ, जब देश गहिरो राजनीतिक अनिश्चितताको अवस्थामा प्रवेश गर्दैछ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले अर्को वर्ष पद छोड्दैछन्। जनमत सर्वेक्षणहरूका अनुसार, अप्रिलमा हुने राष्ट्रपति निर्वाचन नेसनल र्यालीकी नेता मारिन ले पेन र कट्टर वामपन्थी पार्टी ला फ्रान्स इन्सोमिजका नेता जाँ-लुक मेलेनकोनबीचको प्रतिस्पर्धामा परिणत हुन सक्छ।
मेलेनकोनले फ्रान्समा भएका प्रदर्शनहरूमा हिस्सा लिएका थिए। पछि उनले प्रहरी अधिकारीहरू प्रदर्शनकारीमाथि जाई लागेको अर्थात् अत्याधिक बल प्रयोग गरेको आरोप लगाए, यद्यपि उनले लुटपाट र आगजनीको भने निन्दा गरे।
प्रधानमन्त्री लेकोर्नुले उनको टिप्पणीलाई ‘खतरनाक र निन्दनीय’ भनेका छन्। यसअघि उनले प्रहरीले ‘अत्यन्तै तीव्र हिंसा’को सामना गर्नुपरेको बताएका थिए।
उनले केही समूहले राष्ट्रपति निर्वाचनअघि यी प्रदर्शनहरूलाई ‘अभ्यास’का रूपमा प्रयोग गरिरहेको पनि दाबी गरे। उनले थपे, ‘कसैले पनि हिंसाको माध्यमबाट आफ्नो राजनीतिक एजेन्डा लाद्न पाउनेछैन।’
मारिन ले पेनले प्रदर्शनकारीहरूले उठाएका ‘जायज मागहरूलाई कट्टर वामपन्थीहरूले बन्धक बनाएको’ बताइन्। उनले मेलेनकोनमाथि हिंसालाई बढावा दिएको आरोप लगाइन्।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले भने, ‘जसले प्रिफेक्चर र व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड गरे, उनीहरूमाथि आक्रमण गरे र यहाँसम्म कि हाम्रा टाउन हलहरूमा पनि लुटपाट मच्चाए, उनीहरूविरुद्ध मुद्दा चलाइनेछ र सजाय दिइनेछ।’
सरकारले केही सहुलियत दिने प्रयास पनि गरेको छ। शिक्षामन्त्री एडुआर्ड जेफ्रेले ८ अक्टोबरमा एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ३,००० अतिरिक्त अस्थायी शिक्षकहरू नियुक्त गर्ने वाचा गरेका थिए। यद्यपि, विरोध प्रदर्शनहरू जारी छन् र यसको तीव्रता झनै बढेको छ।
