काठमाडौ। तीन दिनसम्म अवरुद्घ वीपी राजमार्ग आजबाट सूचारु भएको छ । वीपी राजमार्गको रोशी खोला क्षेत्रका विभिन्न ठाउँमा लेदो सहितको पहिरो हटाएपछि आजबाट यातायातका साधन सञ्चालनमा आएको हो । आज बिहानैदेिख पानी पर्न रोकिएका कारण रोशी खोलाको चौकीडाँडा, बोक्सेकुना माम्ती लगायतका विभिन्न सडकमा झरेको पहिरो समेत हटाईएपछि सवारीका साधनहरु राजमार्गबाट चल्न थालेका हुन् । वर्षा र बाढीपहिरोसँगै देशका केही स्थानमा मुख्य सडक अवरुद्ध भएका छन् । कान्ति लोकपथ, मध्यपहाडी लोकमार्ग, मेची राजमार्गसहितका सडकखण्ड अझै अवरुद्ध छन् । मकवानपुरको बकैयास्थित घट्टेपाखामा सडकमाथिबाट ठूला ढुंगा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । मकवानपुरमै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो खस्दा अबरुद्ध भएको छ । उता, तेह्रथुमको म्याङलुङ सिस्नेखोलानजिक मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । गएको जेठ ६ गतेदेखि संखुवासभामा कोसी राजमार्ग अवरुद्ध छ । भोटखोला गाउँपालिका–४, बरुणखोलामा बाढी आएर ह्युमपाइप बगाउँदा खाँदबारीदेखि थुमसुर जाने कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेकोे छ । रुकुम पूर्वमा मध्यपहाडी पुष्पलाल लोकमार्ग यो कात्तिक महिनाभरिका निम्ति बन्द गरिएको छ । यता, इलाममा रातको समयमा मेची राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पाँचथरको तुम्वेवा र धनकुटाको चौबिसे सिमानास्थित तमोर–करिडोर सडकखण्ड पनि अवरुद्ध छ । रसुवामा पासाङल्हामु सडकखण्ड विभिन्न स्थानमा अवरुद्ध छ ।