बागलुङ । ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ गर्पाछेडा पछिल्लो समय पर्यटकमाझ लोकप्रिय हुँदै गएको छ ।
बुकीपाटनको पहिलो प्रवेशद्वार गर्पाछेडामा गत वर्षदेखि गोठबास अर्थात गोठस्टे संचालनमा आएपछि पर्यटकलाई थप सहज भएको छ । पछिल्लो दुई वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे संचालनमा ल्याइएको हो । अहिले दैनिकजसो एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् ।
गर्पाछेडा बुकीपाटनको पहिलो स्थान भएको हुँदा यहाँबाट फागुने, टिकाधार, लगायतका स्थानमा पुग्न सकिन्छ । गोठस्टेले बुकीपाटन आउँदा बसाइँ र यहाँको घुमफिरलाई सहज बनाई दिएको छ ।
गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्याङ्ग्राको मासु, लेकाली साग, आँटो ढिडो लगायतका परिकार खान पाउँछन् । दुई वर्ष अगाडिसम्म बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा थिएन ।
पर्यटक भेडीगोठालेसँगै गोठमा रात बिताउने गर्थे । पर्यटकको आगमनमा वृद्धि भएसँगै गोठस्टे संचालन गरिएको हो । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रङ्खला र गोठलाको जनजीवन अनुभूत गर्न पाउँछन् ।