एजेन्सी । अमेरिकाको कोलम्बिया विश्वविद्यालयले क्याम्पस क्षेत्रमा विरोध प्रदर्शनमा सहभागी भएका ७० जनाभन्दा बढी विद्यार्थीलाई कारबाही गरेको छ ।
विश्वविद्यालयले र एक विज्ञप्ति जारी गर्र्दै विरोध प्रदर्शनमा भाग लिएका विद्यार्थीलाई अनुशासनहीन काम गरेको भन्दै कारबाही गरेको हो । कारबाहीमा परेका निलम्बित विद्यार्थीहरू मध्ये दुई तिहाइलाई दुई वर्षका लागि निलम्बन गरिएको छ ।
विद्यार्र्थी समूहले कारबाहीको पत्रहरूमा निलम्बित विद्यार्थी लाई क्याम्पसमा फर्कन विश्वविद्यालय सामु माफी माग्नुपर्ने बताइएको दाबी गरेको छ । अन्यथा निष्कासनको सामना गर्नुपर्ने बताएको छ । यो अनुशासनात्मक कारबाही ट्रम्प प्रशासनले विश्वविद्यालयलाई सयौँ मिलियन डलरको संघीय अनुसन्धान अनुदान कटौती गरेको केही महिनापछि आएको हो ।
कोलम्बिया विश्वविद्यालयमा प्यालेस्टिनी समर्थकहरूले विरोध प्रदर्शन गर्दै पुस्तकालय कब्जा गरेपछि न्यूयोर्क प्रहरीले ७५ जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीहरू बीच झडप हुँदा दुई सुरक्षा अधिकारी घाइते भएका छन् ।
प्रदर्शनको दौरान सावधानीको लागि ‘फायर अलार्म’ बजाइएको थियो । प्रदर्शनकारीहरू साँझ ६ बजेतिर पक्राउ परेका थिए ।