काठमाडौं । आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपाल ‘ए’ले जितेको छ ।
भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराएर ३–२ ले सिरिज कब्जा गरेको हो ।
जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन जोडेका थिए । यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । यस्तै, तेस्रो खेलमा नेपाल नौ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो ।