एजेन्सी । गुप्तचर निकायका पूर्वप्रमुखहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्ध अन्त्य गर्न इजरायललाई दबाब दिन आग्रह गरेका छन् ।
गुप्तचर निकायका पूर्वप्रमुखसहित गाजामा छ सय जना अवकाश प्राप्त सुरक्षा अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने बताएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आफ्नो पेसागत ज्ञानको आधारमा हमास अब इजरायलका लागि चुनौती नभएको ठहर गर्दै उनीहरुले ट्रम्पलाई पत्र लेखेको उल्लेख गरेका हुन् । पत्रमा इजरायली सरकारलाई सही बाटोमा लैजाने क्षमता ट्रम्पसँग भएको उल्लेख गरिएको छ ।
यो युद्ध अन्त्य अपरिहार्य भएको उनीहरुको निष्कर्ष छ । हमाससँग युद्ध विरामको लागि भएको अप्रत्यक्ष वार्ता स्थगित भएपछि बेन्जामिन नेतान्याहुले गाजाका आक्रमण बढाउने धारणा सार्वजनिक गरेपछि पूर्व अधिकारीले ट्रम्पलाई पत्र लेखेका हुन् ।
सन् २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्दै २ सय ५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि इजरायलले गाजामा आक्रमण शुुरु गरेको हो । त्यसयता भएको आक्रमणमा ६० हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
सोमबार मात्र इजरायली आक्रमणमा ९० जना भन्दा बढीको ज्यान गएको छ । हाल कुपोषणका कारण समेत गाजामा हरेक दिन धेरै जनाले ज्यान गुमाइ रहेका छन ।