इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने भन्दै इलाम अस्पतालले थप उपचारको व्यवस्था मिलाउन कोशी प्रदेश सरकारसँग आग्रह गरेको छ। अस्पतालले आइतबार सार्वजनिक गरेको विवरण अनुसार केसीलाई शनिबार राति करिब ८ बजे उपचारका लागि भर्ना गरिएको थियो।
टाइप–२ मधुमेहका बिरामी रहेका उनको रगतमा ग्लुकोजको मात्रा खतरनाक स्तरसम्म घटेको पाइएको छ। पिसाबमा एसिटोनको मात्रा पनि बढेको अस्पतालले जनाएको छ। अस्पतालमा गरिएको परीक्षणमा उनको रगतमा ग्लुकोजको मात्रा क्रमशः ६७, ६७, ४७ र ३६ मिलिग्राम प्रतिडेसिलिटर देखिएको थियो। यो अवस्थालाई ‘हाइपोग्लाइसेमिया’ अर्थात् रगतमा चिनीको मात्रा सामान्यभन्दा कम हुनु भनिन्छ। पछिल्ला दुई परीक्षणमा देखिएको मात्रा चिकित्सकीय दृष्टिले गम्भीर जोखिमको स्तरमा पर्छ।
अस्पतालका अनुसार केसीको रक्तचाप १००÷६० एमएमएचजी छ। नाडीको गति प्रतिमिनेट ८० देखि १०८ सम्म र रगतमा अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशत रहेको छ। मुटुको विद्युतीय गतिविधि जाँच्ने इसिजी परीक्षणमा कहिलेकाहीँ भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्स ९भिपिसी० समेत देखिएको विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने र जीवन नै जोखिममा पर्न सक्ने भन्दै इलाम अस्पतालले आवश्यक उपचार तथा थप व्यवस्थापनका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो। यसैबीच डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोशी प्रदेशका स्वास्थ्य सचिव डा। कीर्तिपाल सुवेदी आइतबार इलाम अस्पताल पुगेका छन्।
उनले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रमुख डा. अमिताभ ठाकुरसँग भेट गरी उपचार तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। सचिव सुवेदीले डा। केसीले उठाएका मागमध्ये प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेर सम्बोधन गर्न सकिने विषय नरहेको बताए। माग सम्बोधनका लागि आवश्यक पहलमा आफ्नो तर्फबाट सहयोग रहने उनको भनाइ थियो।

