काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा-नराम्रा कामको जसअपजस सत्तारूढ रास्वपाले लिनुपर्ने बताएका छन् । आइतबार सरकारका गतिबिधि र समसामयिक राजनीतिक विषयबारे विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति थापाले विगतमा कांग्रेसको सरकार हुँदा गलत भएका बेला आफूहरूले बोलेका कुरामा रास्वपाले उठाउने गरेको प्रश्नको उदाहरण दिँदै अहिले सरकारले गरिरहेका रास्वपा नेताहरूसँग प्रश्नैप्रश्न गरे ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेताहरूले गलत भयो भन्ने बोल्ने काम भएको छ,’ उनले भने, ‘सरकारले कुनै कुरा गलत गर्दा हामी बोल्थ्यौं । त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हुन्थ्यो भने यो सरकार त नेपाली कांग्रेसको सरकार हो, नेपाली कांग्रेसको सरकार भएको हुनाले त्यो सरकारले गरेको काम भएकाले विरोध तिम्ले गरेर पुग्दैन, जिम्मा तिम्ले लिनुपर्छ । किनकी तिमि पनि त्यो पार्टीको हो । यो सिद्धान्त तपाईँहरूलाई लागु हुन्छ कि हुँदैन ? यो प्रश्न हाम्रो हो ।’
उनले ‘यो सिद्धान्त कांग्रेस–एमालेको हकमा लागु हुने, अनि रास्वपाको नहुने ?’ भन्दै थप प्रश्न गरे । ‘सरकारले राम्रो काम गरेको छ भने रास्वपा, सरकारको कुनै काममा प्रश्न उठे त्यो चाहिँ प्रधानमन्त्री ?,’ सभापति थापाले अगाडि भने, ‘सरकारका खराब कामको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र सरकारका राम्रा कामको श्रेय सिंगो रास्वपाले लिने ? यसको जिम्मेवारी रास्वपाले लिने प्रश्न आउँछ कि आउँदैन ?’

