सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–४ कुसण्डीतर्फ जाने बाटोमा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनलाई एक राउन्ड गोली प्रहार गर्दै नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्युरो (गोलबजार) बाट खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गरिरहेको बी आर ३२: ७३३८ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक भाग्न खोजेपछि गोली प्रहार गरी मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका व्यक्ति भारत बिहार राज्यको मधुबनी जिल्ला अन्तर्गत बिरपुर ग्रामपञ्चायत वडा नं. ९ निवासी ३८ वर्षीय श्यामसुन्दर पासवान हुन् । उनको साथबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ ।
पक्राउ परेका पासवानलाई बरामद लागूऔषध र मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतार पठाइएको छ ।