काठमाडौं । काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति काठमाडौं जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
बिहानीपख वर्षा रोकिएकाले अहिले अवस्था सामान्य रहेको छ । बिहीबार राति गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको हो ।
अरू ठाउँको तुलनामा कास्की, रुपन्देही र रुकुम पूर्वमा निकै ठूलो पानी परेको छ । काठमाडौं उपत्यकासहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।