काठमाडौं । मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज नेपालले सिंगापुरसँग भिड्दै छ।
फाइनल भिडन्त शनिबार (आज) बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा शुरु हुनेछ। साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा हुनेछ।
नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।
प्रतियोगितामा नेपाल अपराजित छ। समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।