समाज

आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य शुरु

आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य शुरु

काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य शुरु गरेको छ । 

अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन् । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने पौडेलको भनाइ छ ।  

मुख्यसचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन थप ऐन कानून जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भएअनुसार खरिदका लागि तयारी प्रक्रिया अघि बढाउँदा हुने धारणा व्यक्त गरे। बैठकमा चालु आर्थिक वर्षको पुँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो । बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमको सम्वन्धमा रकमान्तर लगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए ।

उपाध्यायले स्रोत सहमति भएका र कागजात पूरा भएका आयोजना तथा कार्यक्रमको सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारको दिन पनि काम गर्ने बताउँदै प्रकृया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवहरुलाई अनुरोध गरेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *