काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।
सोमवार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्नेमा जोड दिएका हुन् ।
प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानविन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्नेकुरा सहमति नजिक पुगेपनि टुंगो नलागेको बताउँदै उनले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने बताए ।
गृहमन्त्री लेखकनै पदमा रहँदासम्म निष्पक्ष छानविन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानविन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि राजीनामा दिनुपर्नेमा सांसद आलेमगरले जोड छ ।
उनले अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिहरुको छानविनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको स्पष्ट पारे ।