काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्धमा भइरहेको व्यवस्था विरोधी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले केही व्यक्ति र समूहले विस्थापित भइसकेको व्यवस्थालाई फर्काउने दुस्प्रयास गरिरहेको भन्दै त्यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तुलसाकुमारी दाहालले व्यवस्था विरोधी प्रश्न उठाउर मित्थ्या आरोपप्रति प्रश्न उठाइनु सामान्य कुरा नभएको बताइन् । उनले समाजमा समय समयमा प्रकट हुने नकारात्मक सोच, संविधान व्यवस्थाप्रति फैलाइएको अफवाह सङ्घीय लोकतान्तिक गणतन्त्रको विरुद्धमा मित्थ्या आरोप लगाउने काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराइन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले नेपालमा जातकै कारण विभिन्न विभेदका घटना घटिरहेका र पीडितले न्याय पाउन नसकेको भन्दै सभा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले जनप्रतिनिधिको सकारात्मक भूमिका नहुनु, प्रहरी प्रशासनको कमजोर भूमिका, मिडियाको भूमिका सकारात्मक नहुनु तथा विपन्नता र गरिबीको दुस्चक्रमा समाज रहनुका कारण दलितमाथिको विभेद र अपराधजन्य घटना बढिरहेको जिकिर गरे ।
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सङघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक व्यवस्थाका विरुद्धमा सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको भन्दै व्यवस्था विरोधीका विरुद्ध एकजुट हुनुपर्ने धारणा ब्यक्त गरे ।
सांसद रोकायाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक कर्मचारीको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकको राजिनामाको विषय ल्याइनु दुःखद् पक्ष हो भन्दै आरोपित व्यक्ति विरुद्ध उजुरी नै नपरेको विषयमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाए ।