काठमाडौं । यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।
बिहानैदेखि देशभर यातायातका साधन नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेका छन् ।सोमबारदेखि नै अलपत्र परेका यात्रु पनि सवारी साधनको प्रतीक्षामा रहेका छन् । कतिपय पैदलै हिँडेर गन्तव्यमा गइरहेको देखिएका छन् भने काठमाडौं उपत्यकामा न्यून मात्रामा साझा यातायातले सेवा दिए पनि कोचाकोच यात्रु राख्न बाध्य भएको देखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आज पनि सार्वजनिक सवारीसाधन प्रभावित भएको देखिएको र फाट्टफुट्ट चलिरहेको बताए । उनले चालकहरुको मागका आधारमा ‘स्कटिङ’ गरेर यातायातका साधनलाई गन्तव्यतर्फ पठाउन ७७ वटै जिल्लामा प्रहरी टोलीलाई निर्देशन दिएअनुसार उक्त कार्य जारी रहेको बताए ।
यसरी सार्वजनिक यातायातका साधन नचलेपछि ‘राइड सेयरिङ’ प्रयोग गर्नुपर्ने बाध्यता यात्रुहरुमा रहेको छ । उनीहरुले चर्को भाडा असुलेको गुनासो आइरहेको छ । उनीहरुले रु २५० लाग्ने ठाउँमा रु ४०० सम्म लिइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।एक्कासि सोमबार र मङ्गलबार यातायात नचल्दा त्यसअघि विभिन्न क्षेत्रमा पुगेका सर्वसाधारण नागरिकलाई फर्कन सास्ती भएको छ । उनीहरु लामो दूरीका सवारीसाधनको प्रतीक्षामा रहेका छन् ।